कोरोना महामारीका कारण जापानमा आर्थिक मन्दी सुरु भएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा त्यहाँको अर्थव्यवस्थामा अहिलेसम्मकै नराम्रो असर देखिएको छ। महामारीका कारण मानिसहरुले खर्च नगर्दा आर्थिक मन्दी बढ्न सहयोग पुगिरहेको छ।
नीतिनिर्माताहरुलाई स्थिति थप खराब हुन नदिन र प्रभावकारी कदम चाल्न दबाब परेको छ। मे महिनादेखि नै लकडाउन हटाएर अर्थव्यवस्था पुनः ब्यूँताउन खोजेपनि फेरि महामारी फैलने जोखिमका कारण मानिसहरुले व्यापक खर्च कटौती गरिरहेका छन्।
अप्रिल–जुन महिनामा त्यहाँको वार्षिक कुल गाहस्र्थ उत्पादनमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको छ। पहिलो त्रैमासदेखि नै जापानको अर्थव्यवस्थाले निरन्तर गिरावट सामना गरिरहेको छ। नेरिनचुकिन रिसर्च इन्स्टिच्युटका मुख्य अर्थशास्त्री ताकेशी मीनामीले भनेका छन्, ‘अर्थव्यवस्थामा गिरावट हुँदा निर्यात र खपतमै असर गरेको छ, जुलाई र सेप्टेम्बर महिनामा स्थिति केही सुध्रिने आशा गर्न सकिन्छ, त चीनबाहेक विश्व भरकै अर्थव्यवस्था अहिले निकै सुस्त गतिमा चलिरहेको छ।’
जापानको अर्थव्यवस्थामा निजी खपतले आधाभन्दा बढी हिस्सा ओगट्छ। तर यस त्रैमासमा यस्तो खपत ८ दशमलव २ प्रतिशतले घटेको छ। लकडाउनका कारण घरमै बसिरहेका मानिसहरुले खर्च कटौती गरिरहेका छन्। यो वर्ष निजी खपतमा ७ दशमलव १ प्रतिशत गिरावट आउनसक्ने विश्लेषकहरुले बताएका छन्।
यो गिरावट अहिलेसम्मकै उच्च हो। जापानमा बाहिरबाट हुने माग अर्थात निर्यात र आयातको अन्तर पनि कम भएको छ। यसका कारण जापानको आर्थिक वृद्धिदरमा ३ प्रतिशतको गिरावट आइसकेको छ। महामारीको असर कम गर्न जापान सरकारले ठूलो आकारमा राज्य कोष खर्च गरिरहेको छ भने मौद्रिक प्याकेज ल्याएको छ।
तर, सेल्स ट्याक्समा वृद्धि तथा अमेरिकी–चीन व्यापार युद्धका कारण जापानको अर्थव्यवस्थाले यस अघिदेखि नै क्षति व्यहोरिरहेको छ।





















