चितवन । नेपाल सरकारले शनिबार र आईतबार दुई दिन सरकारी विदा दिने भएसँगै सरकारी अस्पतालमा पनि दुई दिन ओपिडी (बहिरंग सेवा) बन्द हुने भएको छ । तर भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले आईतबार पनि ओपिडी सेवा खुल्ला गर्ने भएको छ ।
सरकारले आईतबार विदा दिने घोषणा गरेपनि सिएमसीले आफ्नो सेवालाई नियमित गरेको प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताउनुभयो । उहाँका अनुसार हरेक आईतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म नै अन्य दिन सरह नै ओपिडी सेवा खुल्ला रहने उहाँले जानकारी दिनुभयो । यी सेवाहरु सिएमसी क्यान्सर इन्स्टिच्यूटबाट समेत लिन सकिने उहाँको भनाई छ । शनिबार भने इमर्जेन्सी विभाग मार्फत् सबै सेवा उपलब्ध हुने गरी उपचार सेवाको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
यो मेडिकल कलेज ओपिडीमा धेरै बिरामी आउने नेपालका अस्पतालहरु मध्ये अग्रणी हो । यहाँ चितवन सहित देशैभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भारतबाट समेत क्यान्सरको उपचार गर्न बिरामी आउने गर्दछन् । अन्य अधिकांशजसो सार्वजनिक विदाका दिनमा समेत यहाँ ओपिडी सेवा सञ्चालन हुने गर्दछ ।





















