काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए।
अनुसन्धानका अनुसार १० हजार ५९८ बचतकर्ताबाट संकलित करिब ४ अर्ब ५ करोड ६० लाख रुपैयाँमध्ये १ अर्ब ४९ करोड १६ लाख रुपैयाँ मात्रै ऋण तथा लगानीका रूपमा प्रवाह भएको देखिएको छ। बाँकी ठूलो रकमको विवरण नखुलेको र हिनामिनाको आशंका गरिएको छ।
यसका साथै प्रवाह गरिएको ऋण पनि कमसल धितो वा बिना धितो दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।





















