काठमाडौं । वीर अस्पतालमा सोमवार देखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअन्तर्गत महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण गरिनेछ। यो कार्यक्रम वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
परीक्षण शुभारम्भ कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले समयमै क्यान्सर पहिचान गर्न सके उपचार सहज र कम खर्चिलो हुने बताइन्। “समयमै जाँच गरेर क्यान्सर पत्ता लगाउन सकियो भने जीवन बचाउन सकिन्छ,” उनले भनिन्। कार्यक्रममा उनले आफ्नै क्यान्सर परीक्षणसमेत गराएकी थिइन्।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले ढिलो पहिचानका कारण क्यान्सर जटिल बन्दै गएको उल्लेख गरे। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिलीप शर्माले नियमित परीक्षणले जोखिम घटाउने भन्दै महिलालाई नडराई जाँच गराउन आग्रह गरे।
महानगर स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार देशभरिका महिलाले वीर अस्पतालमा पुगेर यो सेवा लिन सक्नेछन्। परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर पुर्जी लिएर आउनुपर्ने व्यवस्था गरिएको छ।
महिलाको क्यान्सर परीक्षण कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको जनाएको छ।





















