काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् ।
उनी मधेशी महिलाको कोटामा परेकी थिइन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् । स्थापनाकालबाटै रास्वपामा आवद्ध भएकी उनी अघिल्लोपटक पनि समानुपातिक सूचीमा परेकी थिइन् । तर, सांसद बन्न सकेकी थिइनन् ।
२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहताले भारतको ग्वालियरस्थिति विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन् । पढाइसकेर फर्किएपछि उनले बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलमा काम गरिन् ।
उनी सांसद बन्नुअघिसम्म पनि आफ्नो पेशामा सक्रिय थिइन् । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि भने पदबाट राजीनामा दिएकी छन् ।
उनी प्रहरीपत्नी पनि हुन् । निशाका श्रीमान डा सरोजसिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख र प्रहरी नायव उपरीक्षक हुन् । रास्वपामा स्वास्थ्यमन्त्रीका थुप्रै दाबेदार थिए ।
केही मेडिकल डाक्टरहरू पनि रास्वपाबाट सांसद निर्वाचित भएका छन् । पछिल्लोपटक सोविता गौतमको नाम पनि स्वाथ्यमन्त्रीमा चर्चा भएको थियो ।
अन्तिममा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले मधेशी महिलाका रूपमा निशालाई रोजेका हुन् ।





















