काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइराला को इजलासले चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो। अख्तियारमा र अदालतमा आरोपबारे इन्कारी बयान दिएका कारण उनलाई धरौटीमा रिहा गर्ने आदेश भएको जनाइएको छ।
चालिसेमाथि ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ। उनीविरुद्ध गत २८ मंसिरमा मुद्दा दायर गरिएको थियो। उनी प्रतिनिधिसभाको अर्थ समितिका निवर्तमान सभापति पनि हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गोकर्णेश्वर नगरपालिका का मेयर रहेका बेला चालिसेले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ।
अख्तियारका अनुसार चालिसेले ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेको देखिएको छ। तर त्यसमध्ये ४ करोड ८८ लाख रुपैयाँ मात्र वैध रूपमा आर्जन गरेको पुष्टि भएको दाबी गरिएको छ। बाँकी ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै अख्तियारले त्यही रकमलाई बिगो कायम गरेको छ।
अख्तियारले चालिसेसँगै उनकी पत्नी मन्दिरा, छोरा सागर र सञ्जिव तथा बुहारी प्रमिला पोखरेललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ।
चालिसे २०७४ जेठदेखि गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए।
अख्तियारले उनले सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति उल्लेख नगरी लुकाइछिपाई झुट्टा विवरण पेस गरेको आरोप पनि लगाएको छ।





















