काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएका पाँचै पूर्वसुरक्षाकर्मी उम्मेदवार विजयी भएका छन् । सुरक्षा निकायबाट अवकाश लिएर राजनीतिमा होमिएका यी अनुहारले पहिलो प्रयासमै संसद् यात्रा तय गरेका हुन् ।
५ मतको रोचक जित
ओखलढुंगाबाट उम्मेदवार बनेका पूर्वएआईजी विश्वराज पोखरेलले सबैभन्दा साँघुरो जित निकाले । उनले १३ हजार ९५३ मत ल्याउँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । जम्मा ५ मतान्तरको यो जित हालसम्मकै सबैभन्दा कम अन्तरको परिणाम हो।
आईजीपी नियुक्तिमा असन्तुष्ट भई राजीनामा दिएका पोखरेल अवकाशपछि साढे तीन वर्षमै संसद् पुगेका हुन्।
कपिलवस्तु–२ मा थापाको पुनरागमन
पूर्वएसएसपी विक्रम सिंह थापा कपिलवस्तु–२ बाट २७ हजार ६३५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र राज आचार्यले २१ हजार ५२७ मत पाए । कांग्रेसबाटै सिफारिस भएका थापा अन्तिम समयमा रास्वपा प्रवेश गरेका थिए।
गुल्मीमा पन्थीको बाजी
गुल्मी–२ मा पूर्वडीएसपी गोविन्द पन्थी ले एमाले उपाध्यक्ष गोकर्ण विष्टलाई ४९६ मतले पराजित गरे । पन्थीले १६ हजार ८७८ मत ल्याउँदा विष्टले १६ हजार ३८२ मत पाए । ३० वर्ष प्रहरी सेवापछि अवकाश लिएका पन्थी स्वतन्त्र पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।
काठमाडौं–३ मा पाण्डेको सहज जित
काठमाडौं–३ मा महानगर प्रहरीका पूर्वप्रमुख (एसएसपी) राजुनाथ पाण्डे ले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै १८ हजार ७५७ मतसहित जित निकाले । घिसिङले ११ हजार १७१ मत पाए । महानगर प्रहरीबाटै राजनीतिमा प्रवेश गरेका पाण्डे पहिलो प्रयासमै सफल भए।
झापा–४ मा सुस्केराको उछाल
झापा–४ बाट शम्भुप्रसाद ढकाल (शम्भु सुस्केरा) ४३ हजार ६३१ मतसहित विजयी भए । एमालेका एलबी साँवा लिम्बुले ११ हजार ९८६ मत पाए । २२ वर्ष प्रहरी सेवापछि सई पदबाट राजीनामा दिएका सुस्केरा साहित्य र सञ्चार क्षेत्रमा समेत सक्रिय थिए।
पराजित पूर्वआईजीपी
यता राप्रपाबाट उम्मेदवार बनेका ध्रुवबहादुर प्रधान तथा राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल भने पराजित भए।
यस परिणामले सुरक्षा निकायको अनुभवलाई मतदाताले सकारात्मक रूपमा लिएका छन्। रास्वपाले सुरक्षापृष्ठभूमिका उम्मेदवारमाथि गरेको भरोसा यसपटक पूर्ण रूपमा सफल सावित भएको छ।





















