गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनले २९ हजार ६४२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले १५ हजार १८१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा। चन्द्र भण्डारीले १३ हजार ५०५ मत ल्याएका छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १६७ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका शेरबहादुर थापाले ६७१ मत प्राप्त गरेका छन्।
विजयपछि प्रतिक्रिया दिँदै ढकालले आफ्नो जित व्यक्तिगत उपलब्धि नभई शहीदहरूको बलिदानको परिणाम भएको बताएका छन्।
उनले भने, “यो जित हाम्रो होइन, ७६ जना शहीदहरूको हो। हामी खुसी साट्न भन्दा पनि काम गर्न आएका हौं।”
ढकालले समर्थकहरूलाई फूलमाला लगाएर स्वागत नगर्न आग्रह गर्दै भने, ‘फूलमाला हामीलाई होइन, शहीदलाई लगाउने हो। हामी यहाँ उत्सव मनाउन होइन, काम गर्न आएका हौं।’
जितपछि उनले चिदीचौरमा रहेको शहीद शमशेरबहादुर खत्रीको शालिकमा फूलमाला अर्पण गरेका थिए।





















