चितवन – प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भएपनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन् । शनिवार सामाजिक संजालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोबिता गौतमलाई बधाई दिंदै उनले मतमा हार भएपनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन् ।
उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन् ।
उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन् ।
रेनु दाहालको फेसबुक पोष्ट जस्ताको जस्तै
जनताका सपनाहरु, आवश्यकताहरु, चाहानाहरु पुरा गर्नु नै मैले मेरा सपना ठानें। झन्डै ३० वर्षे मेरो राजनितिक जिवनकालमा भरतपुरमा मैले मेरो जीवनको उर्जाशील ९ वर्ष यस ठाउँको बिकास, समृध्दि र सुशासनका लागि समर्पित गरें। मलाई लाग्यो बिकासका लागी जनताका पक्षमा राम्रा निति नियम नहुनाले कामहरू असहज भईरहेका छन्। त्यसका लागि म १५ महिना नगर प्रमुखको कार्यकाल बाँकी छदै बाहिरिएर प्रतिनिधिसभा निर्वाचन चितवन ३ बाट उमेदवारी दिई निर्वाचनमा होमिएं। यधपी मत परिणाम आईसकेको छ। जनताको अमुल्य मतको सम्मान गर्दछु। मैले काम द्वारा तपाईंहरुको मन त जिते तर मत जित्न सकिनँ। मत जित्ने मा.सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु। प्रिय चितवनबासीको मत पक्कै खेर जानेछैन।आगामी दिनमा काम द्वारा जनतामा खुशीयाली र चितवनको थप बिकास र समृद्धी का लागी शुभकामना ब्यक्त गर्दछु। यो सुनामीको लहडमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छु। तपाईहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन। चुनाबी अभियानमा निरन्तर सकृय र उत्साहका साथ खट्नुहुने नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता तथा सम्पुर्ण समर्थक शुभचिन्तक एवं मिडीयाकर्मी ,कलाकारहरू प्रति बिशेष आभार सहित धन्यबाद ब्यक्त गर्दछु। चितवनबासीको हक हित, बिकास र समृध्दिका लागि भने म निरन्तर साथमा हुनेछु।
धन्यबाद, नमस्कार , नेकपा चितवन ३ उमेदवार रेनु दाहाल।





















