काठमाडौं । देशबासीका नाममा सम्बोधन गर्दै सुशीला कार्की ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन्।
सोमबार जारी सम्बोधनमा उनले होली पर्वको शुभकामना व्यक्त गर्दै भनिन्, “आउनुहोस्, होलीको खुसी साटौं र फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ तथा ऐतिहासिक बनाऔं।”
आफू निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित अगाडि बढेको उल्लेख गर्दै उनले देश कठिन मोडमा रहेका बेला जिम्मेवारी सम्हाल्न पाएकोलाई मातृभूमिप्रतिको कर्तव्यका रूपमा लिएको बताइन्।
उनले निर्वाचनपछि जनताबाट निर्वाचित सरकारले देशको नेतृत्व गर्ने स्पष्ट पारिन्। “मैले सधैं न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेकी छु। अब केही दिनमै देशको बागडोर तपाईंहरूले चुन्नुहुने प्रतिनिधिहरूको हातमा पुग्नेछ,” उनले भनिन्।
उनले सबै नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन र शान्तिपूर्ण वातावरण कायम राख्न समेत आग्रह गरिन्।





















