हाम्रो नयाँ कृषि सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल र सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य गोरखा क्षेत्र नम्वर २ का उमेदवार कविन्द्र बुर्लाकोटी विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा जाहेरी परेको छ ।
बचतकर्ताहरुले लाखौं रुपैयाँ अपचलनको आरोप लगाउँदै उजुर हालेका हुन् ।
पीडितहरुले तिनलाई समातेर अनुसन्धान अगाडि बढाउन माग गरेका छन् । सो सहकारी ठगी काण्डमा आधा दर्जन सहकारी ठगी गरेर फरार जिबी राई,डिपी,कबिन्द्र लगायत जोडिएका छन् । जिबी सहकारीको अध्यक्ष, डिपी उपाध्यक्ष र कबिन्द्र सञ्चालक थिए ।
सिआइबीले यस अघि उक्त सहकारी ठगीमा तीन जनालाई पक्राउ गरेको थियो । तर,जिल्ला सरकारी वकिल कार्यालयले तीनै जनाविरुद्ध मुद्दा नचल्ने निर्णय गरिदियो । डिपी पनि आउँदो फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन् ।
यता, सिआइबीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जाहेरी परेको विषयमा जानकारी नभएको बताए । ‘त्यस्तो जाहेरी परेको मेरो नोटिसमा छैन । के रहेछ,बुझ्छु’,उनले भने । जनआस्थाबाट





















