काठमाडौं । निर्वाचन आयोग ले चुनावी प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग गर्न रोक लगाएको छ।
विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा कार्यकर्ताले भौतिक रूपमा ‘घण्टी’ बोकेर प्रचार गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलहरूले ध्वनि प्रदूषण भएको भन्दै आपत्ति जनाएका थिए।
आयोगले जारी गरेको विज्ञप्तिमा उम्मेदवार तथा राजनीतिक दलहरूले प्रचारका क्रममा भौतिक चुनाव चिह्न साथमा बोकेर हिँड्दा शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने तथा सुरक्षा जोखिम बढ्ने भन्दै उजुरी र गुनासा प्राप्त भएको उल्लेख गरिएको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार दल वा उम्मेदवारले आफ्नो निर्वाचन चिह्नको प्रचार गर्दा कपडा, तुल, फ्लेक्स वा कागजमा छापी (प्रिन्ट गरी) तोकिएको मापदण्डअनुसार मात्र प्रयोग गर्न सक्ने स्पष्ट पारिएको छ।
निर्देशनविपरीत धातु, काठ वा अन्य भौतिक सामग्रीबाट बनेका चुनाव चिह्न प्रयोग गरेमा आचारसंहिताविपरीत कारबाही हुने आयोगले जनाएको छ।






















