रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको उद्गमस्थल रुकुमबाट अब विकास, निर्माण र समृद्धिको अभियान सुरु गर्ने घोषणा गरेका छन्।
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दलित तथा मगर समुदायको उल्लेख्य बसोबास रहेको क्षेत्रमा लक्षित विशेष कार्यक्रम ल्याउने बताए।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवार बनेका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण गठन गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौँ, तर सरकार ढलेपछि काम अगाडि बढेन,’ उनले भने, ‘अब निर्वाचित भएपछि दलित समुदायको उन्नतिका लागि सम्पूर्ण शक्ति लगाउनेछु।’
उनले दलित बाहुल्य क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरी विशेष अधिकार प्रदान गर्न सकिने धारणा राखे। साथै रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने योजनालाई प्राथमिकतामा राख्ने बताए।
‘तकसेरा–शहीद मार्ग हुँदै आएका छौँ, यसको स्तरोन्नति गर्नेछौँ,’ उनले भने, ‘तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड विस्तार गरी आवतजावत सहज बनाउने मेरो प्राथमिकता हुनेछ।’
जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको उल्लेख गर्दै उनले संविधानले दलित, जनजाति लगायत सबै समुदायलाई अधिकार सुनिश्चित गरेको बताए। ‘अब यही क्षेत्रबाट समृद्धि र विकासको नयाँ अभियान सुरु गर्नुपर्छ,’ उनले जोड दिए।





















