सुनसरी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका–१७ का वडाध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ।
जिल्ला कमिटी सदस्यसमेत रहेका आचार्यले पार्टी निर्णय र नीति विपरीत गतिविधि गरेको आरोप लगाउँदै उनलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ।
पार्टीद्वारा जारी पत्रमा पटक–पटक सचेत गराउँदा पनि अटेर गरेको, पार्टी नीति तथा नेतृत्वविरुद्ध गतिविधि जारी राखेको उल्लेख गरिएको छ।
आचार्यका छोरा आदित्य आचार्य सुनसरी–२ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन्। वडाध्यक्ष आचार्यले छोराको पक्षमा मत माग्दै प्रचार–प्रसार गरेको तथा पार्टीविरुद्ध अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो।
यसअघि आचार्य निर्वाचनकै समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका थिए।
![]()





















