चितवन – चितवनस्थित भरतपुर महानगरपालिकामा कार्यरत रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य विरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी आचार्यले करिब ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा अभियोगपत्र दर्ता गरिएको हो।
आयोगले जनाएको छ कि सेवा अवधिमा आर्जन गरिएको सम्पत्तिको वैधानिक स्रोत खुलाउन नसकेपछि आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। आचार्यले पदीय मर्यादा विपरीत कार्य गरी स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा आचार्य इन्जिनियर रा.प. तृतीय श्रेणी पदमा २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सेवा अवधिको सम्पूर्ण आय–व्यय विवरण परीक्षण गरिएको आयोगले जनाएको छ।
त्यसक्रममा अवैध रूपमा आर्जन गरिएको रकमबाट आचार्यले आफ्नी पत्नी लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको देखिएको आयोगको निष्कर्ष छ। सोही कारण प्रचलित कानुनअनुसार ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ रहेको देखिन्छ। तर आम्दानी, खर्च तथा बैंक मौज्दातको समग्र मूल्यांकन गर्दा सोभन्दा अत्यधिक, करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा थप भएको पाइएको छ।
वैधानिक स्रोतबाट पुष्टि हुन नसक्ने उक्त अतिरिक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा आर्जन गरिएको ठहरसहित आचार्य र सुवेदी दुवैविरुद्ध पौने ७ करोड रुपैयाँ बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।





















