चितवन – भरतपुर महानगरपालिकाको मेयरका रूपमा रेनु दाहालले आफ्नो कार्यकालमा गरेका कामहरू आज तथ्यका रूपमा बोलिरहेका छन्। सडक, सरसफाइ, स्वास्थ्य, शिक्षा, नदी नियन्त्रण, सहरी पूर्वाधार र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा उनले देखाएको परिणाममुखी नेतृत्वकै कारण उनी “काम गर्ने मेयर” को रूपमा स्थापित भइन्। यही कारण प्रत्यक्ष रूपमा उनका कामलाई असफल भन्न नसकेपछि अहिले उनीमाथि नयाँ किसिमको आरोप थोपर्ने प्रयास भइरहेको छ— “सांसदीय चुनाव नीति निर्माणका लागि हो, काम गर्न जान्ने भए पनि रेनु दाहाल नीति बनाउन योग्य छैनन्।”
यो आरोप पूर्वाग्रही मात्रै छैन,बरु नेपालको राजनीतिक इतिहास, व्यवहारिक अनुभव र तथ्यसँग पनि मेल खाँदैन।
रेणु दाहालको राजनीतिक यात्रा स्थानीय सरकारबाट सुरु भएको होइन। मुलुकको व्यवस्था परिवर्तनका लागि उनले सशस्त्र जनयुद्धमा सहभागी भएर खेलेको भूमिका ऐतिहासिक यथार्थ हो। त्यो संघर्ष व्यक्तिगत लाभका लागि होइन, सामन्ती संरचना अन्त्य गर्दै गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र स्थापना गर्ने वैचारिक आन्दोलन थियो। त्यस्तो आन्दोलनमा सहभागी हुनु आफैंमा राजनीतिक दृष्टि, साहस र दीर्घकालीन सोचको प्रमाण हो।
त्यसपछि २०६४ सालको संविधानसभा निर्वाचनमार्फत उनी संसदमा पुगेर संविधान निर्माण प्रक्रियामा सक्रिय भूमिका खेलेकी नेतृ हुन्। संविधानसभा नै नेपालको सबैभन्दा ठूलो नीति निर्माण गर्ने थलो थियो, जहाँ संघीय संरचना, मौलिक हक, समावेशी लोकतन्त्र र राज्य पुनर्संरचनाजस्ता विषयमा ऐतिहासिक निर्णय भए। त्यही संसदमा बसेर काम गरिसकेकी नेतृलाई “नीति बनाउन अयोग्य” भन्नु सत्यभन्दा धेरै टाढाको दाबी हो।
नीति निर्माण भनेको कागजमा लेखिएको विचार मात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने क्षमता र अनुभवको संयोजन हो। स्थानीय तहमा बसेर जनताका दैनिक समस्या समाधान गरेकी रेनु दाहालले नीति कहाँ अड्किन्छ, किन असफल हुन्छ र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा व्यवहारबाट बुझेकी छन्। यही अनुभव संसदमा सबैभन्दा आवश्यक हुन्छ।
यही पृष्ठभूमिमा अहिले संघीय संसदको क्षेत्र नम्बर ३ बाट रेनु दाहाल उम्मेदवारका रूपमा अगाडि आउनु सामान्य घटना होइन, आवश्यकता हो। क्षेत्र नं. ३ लाई आज यस्तो प्रतिनिधि चाहिएको छ जसले संघर्ष बुझेको होस्, संविधान निर्माणमा भूमिका खेलेको होस् र काम गरेर देखाएको प्रमाण होस्। यी सबै मापदण्ड पूरा गर्ने उम्मेदवार रेणु दाहाल बाहेक अरू देखिँदैनन्।
साँचो कुरा के हो भने— क्षेत्र नं. ३ मा अहिले मैदानमा रहेका अन्य उम्मेदवारहरू कुनै पनि हिसाबले रेनु दाहालभन्दा अब्बल देखिँदैनन्। न त उनीहरूसँग व्यवस्था परिवर्तनको संघर्ष छ, न संविधान निर्माणको प्रत्यक्ष अनुभव, न त कार्यकारी भूमिकामा बसेर परिणाम दिएको ट्र्याक रेकर्ड। केही उम्मेदवार भाषणमा सीमित छन्, केही अवसरवादी राजनीतिमा अल्झिएका छन्, र केहीसँग जनतासँगको भरोसायोग्य सम्बन्ध नै छैन।
यसर्थ, यो चुनाव केवल व्यक्तिको जित–हारको विषय होइन। यो अनुभव, इतिहास र प्रमाणित क्षमताको जित हुनुपर्छ। क्षेत्र नं. ३ बाट रेनु दाहाललाई जिताउनु भनेको काम गर्ने संस्कृतिलाई संसदसम्म पुर्याउनु हो, संघर्ष र संविधानको सम्मान गर्नु हो, र व्यवहारिक नीति निर्माणलाई बल दिनु हो।
आज रेनु दाहालमाथि भइरहेको आलोचना उनको कमजोरी होइन, उनको प्रभाव, लोकप्रियता र जितको सम्भावनाबाट असहज भएका शक्तिहरूको रणनीति हो। कामबाट टक्कर दिन नसकेपछि चरित्र, क्षमता र योग्यता माथि प्रश्न उठाउनु पुरानो राजनीतिक हतियार हो।
हामी कामना गर्दछौँ— क्षेत्र नं. ३ का सचेत मतदाताले भावनामा होइन, तथ्य र इतिहासमा आधारित निर्णय गरून्। संघर्षदेखि संविधान र कामसम्म आफूलाई प्रमाणित गरिसकेकी रेनु दाहालको जित केवल सम्भावना होइन, आवश्यकता हो।
संघर्ष, संविधान र कामबाट प्रमाणित नेतृत्वलाई कमजोर देखाउने प्रयास : क्षेत्र नं. ३ बाट रेनु दाहालको जित अपरिहार्य किन ?
संघर्ष, संविधान र कामबाट प्रमाणित नेतृत्वलाई कमजोर देखाउने प्रयास : क्षेत्र नं. ३ बाट रेनु दाहालको जित अपरिहार्य किन ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















