झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार यस क्षेत्रको चुनावी प्रतिस्पर्धा बहुपक्षीय र रोचक बनेको छ । यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाहले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जित तामाङले पनि मनोनयन दर्ता गराएका छन् ।
कुल २४ उम्मेदवारमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका छन् भने १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत दलहरूले पनि आ–आफ्ना उम्मेदवार उठाएका छन् ।
उम्मेदवार सूची हेर्दा महिलाको सहभागिता भने न्यून देखिएको छ । सार्वजनिक नामावली अनुसार नेपाली कांग्रेसकी मन्दरा चिमरिया, स्वतन्त्र उम्मेदवार रञ्जना गौतम र शोभा भण्डारी गरी जम्मा ३ जना महिला उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।
उम्मेदवारहरूको उमेर समूह २७ वर्षदेखि ७५ वर्षसम्म फैलिएको छ । सबैभन्दा कान्छा उम्मेदवारका रूपमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षीय सुशान्त साग्त राई रहेका छन् । यसले झापा–५ को चुनाव अनुभवी र युवा पुस्ताबीचको प्रतिस्पर्धाका रूपमा पनि चित्रित गरेको छ ।























