काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउने मुख्य लडाइँ यही निर्वाचन भएको उल्लेख गर्दै ‘देशमा आगो लगाउने’ तत्वहरूलाई चिनेर जनताले मतमार्फत पराजित गर्नुपर्ने जिकिर गरे।
उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग एमालेको कुनै प्रतिस्पर्धा नरहेको स्पष्ट पार्दै लोकतन्त्र विरोधी, असंवैधानिक र अराजकता फैलाउने समूह नै वास्तविक प्रतिस्पर्धी भएको बताए।
“देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग हाम्रो प्रतिस्पर्धा छैन,” ओलीले भने, “लोकतन्त्र नै बाँचेपछि मात्रै प्रतिस्पर्धाको अर्थ हुन्छ। लोकतन्त्र नै समाप्त भयो भने केको प्रतिस्पर्धा?”
अध्यक्ष ओलीले संविधान, राजनीति र राजनीतिक दलहरू नचाहिने भन्ने सोच बोकेका तत्वहरूले देशमा आतंक र अराजकता फैलाउन खोजिरहेको आरोप लगाए। उनले यस्ता शक्तिले देशलाई नीतिविहीन, थितिविहीन र अलोकतान्त्रिक अवस्थातर्फ लैजान खोजेको दाबी गरे।
उनका अनुसार असंवैधानिक रूपमा संसद् विघटन गर्ने, लोकतान्त्रिक अभ्यास कमजोर बनाउने र देशलाई अस्थिर बनाउने तत्वहरूलाई निर्वाचनमार्फत परास्त गर्नु नै अहिलेको प्रमुख राष्ट्रिय आवश्यकता हो।
“हामीले चिनेर पराजित गर्नुपर्ने तत्व भनेकै लोकतन्त्रविरोधी, असंवैधानिक र अराजकता सिर्जना गर्न खोज्ने समूह हुन्,” ओलीले जोड दिए।





















