भरतपुर – देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज भरतपुरमा उद्घाटन गरिएको छ। भरतपुर–९ गोन्द्राङको जिरो किलोमिटरबाट भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले औपचारिक उद्घाटन गरे।
८८.६ किलोमिटर लामो चक्रपथ निर्माण कार्य स्थानीय सरकार गठनपछि सुरु भएको थियो र सात वर्षको मेहनतपछि अधिकांश खण्ड पूर्ण भएको छ। केही स्थानमा कालोपत्र र अलाइनमेन्ट मिलाउने काम बाँकी रहेको छ।
उद्घाटन समारोहमा मेयर दाहालले यसलाई महानगरको गौरवको आयोजना भएको उल्लेख गर्दै देशकै सबैभन्दा लामो रिङरोड राष्ट्रिय राजमार्गको स्तरमा विकास भइसकेको बताइन्।
उपप्रमुख अधिकारीले चक्रपथले भरतपुरको भौतिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिने बताए। साथै, भरतपुर–९ र–१२ मा केरुङ्गा खोलाको सौन्दर्यीकरण कार्य समेत आज उद्घाटन गरिएको छ। महानगरले खोलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ।
सडक निर्माण र सौन्दर्यीकरणमा संघीय, प्रदेश र स्थानीय तहको अरबौँ रुपैयाँको लगानी भएको छ। आगामी दिनमा चक्रपथलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना पनि अघि सारिएको छ।





















