काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले सपथ ग्रहण गरेपछि अन्य केन्द्रीय सदस्यहरूलाई सपथ गराइएको हो ।
सपथ ग्रहण समारोहमा जेष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष एनके प्रसाईंले संयोजक प्रचण्ड र सह–संयोजक नेपाललाई सपथ खुवाउँदै परिचय पत्रसमेत हस्तान्तरण गरेका थिए । त्यसपछि संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई सपथ गराएका हुन् ।
समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले परम्परागत ढर्रा र चल्तीको राजनीतिक शैलीबाट मात्रै देशले भोगिरहेको जटिल परिस्थितिको सामना गर्न नसकिने स्पष्ट पारे ।
राष्ट्रलाई थप एकताबद्ध बनाउने, राष्ट्रिय एकता मजबुत पार्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न नयाँ संकल्प र साहसी पहल आवश्यक रहेको उनको भनाइ थियो । यही निष्कर्षका आधारमा पार्टीलाई सबैलाई एकताबद्ध गर्दै अगाडि बढाइएको उनले बताए ।
प्रचण्डले बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं उपत्यकासहित देशैभर बलियो राजनीतिक सन्देश दिने गरी अर्को एकता समारोह आयोजना गरिएको उल्लेख गर्दै पार्टीले नयाँ चरणको राजनीतिक यात्रामा प्रवेश गरेको दाबी गरे । उनले भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने परिकल्पनाबाट पछि नहट्ने अठोट दोहोर्याउँदै भने, “भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु, त्यसका लागि पार्टी र नेतृत्व प्रतिबद्ध छ।”
सपथ ग्रहणपछि अब पार्टीको केन्द्रीय संरचनालाई पूर्णता दिने, संगठनात्मक कामलाई तीव्रता दिने र जनतासँग जोडिने अभियानमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।
त्यसैगरी सह–संयोजक माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई पार्टीको अर्को अग्निपरीक्षाका रूपमा व्याख्या गरे । उनले चुनावको तयारीमा ढिलाइ नगरी संगठन परिचालन, घोषणापत्र निर्माण र जनस्तरसम्म पार्टीको सन्देश पुर्याउने काममा सबै नेता–कार्यकर्ता जुट्न आग्रह गरे ।
नेपालले निर्वाचन जित्न सक्ने वातावरण निर्माण भइसकेको दाबी गर्दै अब जिम्मेवारीपूर्वक काम गर्न सके पार्टीले अपेक्षित सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले पार्टी एकतापछि अबको मुख्य चुनौती जनविश्वास जित्दै चुनावी मैदानमा मजबुत रूपमा उत्रिनु रहेको बताए ।





















