काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सातै प्रदेशका प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूको मनोनयनपत्र शान्तिपूर्ण रूपमा दर्ता भएको हो ।
निर्वाचन कार्यक्रमअनुसार भोलि उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने कार्यसूची छ । त्यसपछि पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका छ ।
आयोगका अनुसार बुधबार १८ पदका लागि कुल ४४ जनाले उम्मेदवारी दिएका हुन् । यसपटकको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशबाट तीन सिटमा उम्मेदवारी दर्ता गराएको छ । जसपाले एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गरेको जनाएको छ ।
राष्ट्रिय सभाको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूबीचको समीकरण र प्रतिस्पर्धाले थप चासो बढाएको छ ।





















