काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभामा एमालेसँगको गठबन्धन र उम्मेदवार चयन प्रक्रियाप्रति फरक मत राखेका छन्।
सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बुधबार गरेको निर्णयप्रति असहमति जनाउँदै थापाले केन्द्रीय समिति र संसदीय बोर्डको मानमर्दन भएको बताएका छन्। उम्मेदवार छनोटको सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णयप्रति आफूले आपत्ति जनाएको उनले स्पष्ट पारे।
थापाले एमालेसँगको तालमेलको सैद्धान्तिक आधार स्पष्ट नरहेको उल्लेख गर्दै कार्यसम्पादन समितिको निर्णयको स्वामित्व नलिने बताएका छन्। महत्त्वपूर्ण निर्णयमा आफूलाई जानकारी नदिई सीमित व्यक्तिले निर्णय गरेको आरोप पनि उनले लगाए।
‘आज राष्ट्रियसभा उम्मेदवार जसरी चयन गरियो यो केन्द्रीय समितिको पनि मानमर्दन भयो, संसदीय बोर्डको पनि मानमर्दन भयो,’ बैठकपछि उनले भने, ‘त्यसैले महामन्त्रीको रूपमा संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिको मानमर्दन गरेको कुरामा कम्तीमा मेरो ठाउँबाट मैले लिखित फरक मत राखेँ ।’
‘उम्मेदवारी चयनका सन्दर्भमा हिजो सम्पूर्ण जिम्मेवारी सभापतिलाई दिने निर्णय गरियो । मैले नै त्यो प्रस्ताव केन्द्रीय समिति छ, संसदीय बोर्ड छ, समितिको मानमर्दन यो हदसम्म त नगरौं न भन्ने राखेर मैले नै आपत्ति प्रकट गरेका थिएँ,’ थापाले भने, ‘त्यसकारणले आजको बैठक राखियो । तर, आजको बैठकमा यहाँ रमाइलो के भयो भने नाम प्रस्ताव गर्नका लागि यहाँ आइएको छ, तर, नाम प्रस्ताव गर्न बाँकी नै छ । पारित गर्न बाँकी नै छ । उम्मेदवारहरू मनोनयन पत्र बोकेर आ–आफ्नो जिल्ला गइसक्नुभयो ।’
महामन्त्री थापाले कार्यसम्पादन समिति बैठकले गरेको निर्णयमा आफूले स्वामित्व नलिने पनि बताए । ‘जुन तालमेल गर्ने निर्णय गर्नुभएको छ, तालमेलका लागि जे आधार दिनुभएको छ, ती कुनै पनि निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आएर तर्कपूर्ण छलफल भएर भएको निर्णय होइन,’ महामन्त्री थापाले भने, ‘त्यसकारणले गर्दा यो निर्णयको स्वामित्व हामी लिँदैनौं ।’
























