चितवन । चितवन मेडिकल कलेज (CMC ) शिक्षण अस्पतालमा पहिलो पटक ‘सिएमसी कार्डियोलोजी कन्फ्रेन्स’ हुने भएको छ । यही पुस १९ गते शनिबार कन्फ्रेन्स हुन लागेको हो ।
अस्पतालको मुटुरोग विभागको आयोजनामा हुने कन्फ्रेन्समा नेपालभरीका ३५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मीको सहभागिता रहने मुटुरोग विशेषज्ञ प्रा.डा.श्यामराज रेग्मीले बताउनुभयो । कन्फ्रेन्समा मुटु रोग विशेषज्ञ, मुटुरोग अध्ययन गरिरहेका विद्यार्थी, मुटु रोग उपचार गरिरहेका फिजिसियन, मुटुरोगको उपचारमा संलग्न नर्स, प्राविधिक लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
कन्फ्रेन्समा मुटुरोगको उपचार र अनुसन्धानका बारेमा ३३ वटा पेपर प्रस्तुती हुनेछन् । ती प्रस्तुतीमाथि छलफल गरिने छ । कार्यक्रम कोअर्डिनेटर अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका पद्धति, उपचारमा प्रयोग हुने प्रविधि, नविनतम अनुसन्धानहरुका बारेमा व्यापक छलफल हुने छ ।
सिएमसीको पाँचौं तलामा रहेको अडिटरियम हलमा बिहान ८ बजेबाट शुरु हुने कन्फ्रेन्स साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ । बिहान एक घण्टाको सत्र उद्घाटनको रहने छ भने त्यसपछि पेपर प्रस्तुती र छलफल हुने काफ्लेले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा हालसम्म १६ हजारभन्दा बढी मुटुको परीक्षण तथा शल्यक्रियाहरु भएका छन् । विसं २०७० भदौ ११ गतेदेखि यहाँ क्याथल्याब सञ्चालनमा ल्याएर मुटुका विभिन्न शल्यक्रिया हुँदै आएका छन् ।
अस्थायी पेसमेकर राख्ने, स्थायी पेसमेकर राख्ने, क्रोनरी एन्जीयोग्राफी, क्रोनरी एन्जीयोप्लास्टीक, मुटुको सानो भल्व बेलुनले फुलाउने (बिपीभी), जस्ता शल्यक्रिया यहाँ हुँदै आएको मुटुरोग विशेषज्ञ प्रा.डा. विष्णुमणि धितालले बताउनुभयो । यसैगरी मुटुमा जमेको पानी तान्ने, मुटुको आसपासका नसाको एन्जीयोग्राफी, मुटुको बाथरोगको बेलुनद्वारा फुलाउन जस्ता उपचार पनि यहाँ हुने गरेको उहाँको भनाई छ ।
सात वर्षदेखि ९६ वर्षसम्मका बिरामीको मुटुको शल्यक्रिया गरिएको प्रा.डा. धितालको भनाई छ । नेपालमा मुटु रोगको उपचार हुने सरकारी अस्पताल गङ्गालालसरहको शल्यक्रिया शुल्क लिँदै आइएको अस्पतालले जनाएको छ । अस्पतालमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको रु एक लाखको छुटसमेत बिरामीले पाउने गरेका छन् ।
चितवनसहित देशैभरका बिरामीले अस्पतालबाट सेवा लिइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले नचिरिकन शल्यक्रियासमेत गरिने भएकाले राजधानी काठमाडौँबाट समेत बिरामी आउने गरेको बताउनुभयो । राजधानी काठमाडौँमा रहेका निजी तथा सरकारी मुटु अस्पताल सरहको उपकरण, प्रविधि र जनशक्ति यहाँ रहेको भन्दै उहाँले थप्नुभयो, “हामी उपकरण, प्रविधि र जनशक्तिमा कमजोर छैनौँ । अस्पतालमा अत्याधुनिक उपकरणसहितको क्याथल्याब पनि छ ।”
यसैगरी अस्पतालमा बि.सं. २०७८ साल वैशाखदेखि सिटिभिएस सेवा पनि सञ्चालनमा छन् । कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा.डा. अनिल आचार्य नेतृत्वको समूहले यो सेवा दिंदै आएको छ । सिटिभिएस शल्यक्रिया भनेको कार्डियो भास्कुलर थोरासिक सर्जरी हो । यस अन्तर्गत मुटुको शल्यक्रिया हुन्छ । यसैगरी छातीभित्र रहेको फोक्सो, खानानली, छातीमा भएका ट्यूमरहरुको शल्यक्रिया यसै अन्तर्गत गरिन्छ ।
यसैगरी रगत बग्ने कुनै पनि नलीको शल्यक्रिया यस अन्तर्गत हुन्छ । मुटु, छाती र रक्तनलीको शल्यक्रियालाई छोटकरीमा सिटिभिएस भनिन्छ । यस्तै डा. अजितकुमार मिश्रको नेतृत्वमा बाल मुटुरोगको उपचार पनि अस्पतालमा हुँदै आएको छ । बालबालिकामा हुने मुटुरोगको उपचार उहाँकै नेतृत्वमा हुँदै आएका छन् ।






















