काठमाडौं / नेकपाभित्र देखा परेको विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक आज बस्यो ।
शुक्रबार नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमा शंकर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।
उक्त कार्यदलले स्थायी समितिको बैठकमा प्रस्तुत एजेण्डा तथा अन्य विवादित विषयमा निष्कर्शमा पुग्ने विषयमा सहमतिको प्रस्ताव तयार गर्नेछ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी समितिका नियमित एजेण्डामाथिको छलफल प्रभावित भएपछि नेकपा एकता नै संकटमा परेको थियो । त्यसपछि दर्जनौपटक दुबै अध्यक्षबीच छलफल भएपनि सहमति जुटन सकेको थिएन । बिहीबार र शुक्रबार भएको छलफलपछि सहमति खोज्ने दिशामा प्रगति देखिएको हो ।
कार्यदलको बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू के हुन् रु आन्तरिक पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ रु भन्ने विषयमा केन्द्रित भएर कार्यदलले छलफल गर्ने नेकपा महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए ।
कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ । कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गरे ।
१४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो ।





















