काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् । आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रमअन्तर्गत ८ लाख ३७ हजार ९४ जनाले आवेदन दिएका थिए । जाँचबुझपछि ७ लाख ३५ हजार ४५९ जना योग्य ठहरिएका हुन् ।
यस सँगै देशभर मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । यसअघि मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो । आयोगले नयाँ मतदातासहितको अन्तिम नामावली शनिबार सार्वजनिक गरेको हो । कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य छन् ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१०, मधेशमा ३६ लाख ३६ हजार ४१४ र बागमतीमा ३६ लाख ८२ हजार ३१० मतदाता छन् । गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता रहेकामा महिला मतदाता पुरुषभन्दा बढी छन् ।
लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार ६८०, कर्णालीमा १० लाख ३७ हजार २५० र सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् । सुदूरपश्चिम र गण्डकी प्रदेशमा पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको आयोगले जनाएको छ ।





















