काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा यसबारे जानकारी दिएका हुन्। यसले मतदाता संख्यामा ५.६५ प्रतिशत वृद्धि भएको देखाउँछ।
उनका अनुसार निर्वाचन प्रयोजनको लागि हाल ११४ राजनीतिक दल दर्ता भइसकेका छन्, जुन २०७९ को निर्वाचनको तुलनामा बढी हो। दलहरुको संख्या बढेकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ।
निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीहरू पहिचान भइसकेका छन्। तीमध्ये ३७ सामग्री जिल्लास्तरबाट खरिद गरिने र बाँकी १४ मात्र आयोगले केन्द्रीय रूपमा उपलब्ध गराउने तयारीमा छ। मतपेटिका र मसी पर्याप्त भएकाले ती खरिद गर्न आवश्यक छैन।
भट्टराईले भने, “स्रोतको बचत गर्दै मितव्ययी ढंगले निर्वाचन सम्पन्न हुनेछ।” अन्तिम मतदाता नामावली पुस १५ मा तयार हुनेछ। आयोगले निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणको अनुमति पनि जारी गरिसकेको छ। निर्वाचनको वातावरण बनाउन आयोगले सरकार र सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै आएको छ।





















