काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरिएको छ । कांग्रेसका सांसदहरूले पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत हस्ताक्षरसहितको पूरक रिट सर्वोच्चमा दर्ता गराउन लागेका हुन् ।
यसअघि नेकपा एमालेका ७५ सांसदले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन् । कांग्रेस र अन्य दलका सांसदहरूको हस्ताक्षर बुझाइएपछि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहुमत पुग्नेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ भने हाल हस्ताक्षर बुझाउने दुई दलका सांसदको सङ्ख्या १४३ पुगेको छ ।
कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर वारेसनामामार्फत पूरक रिटका रूपमा आजै सर्वोच्च अदालतमा पेस गर्ने तयारी भइरहेको जानकारी दिइन् ।
वारेसनामा पाउने पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले हस्ताक्षरसहितको पूरक रिटको तयारी भइरहेको र सम्भव भएसम्म आजै सर्वोच्च अदालतमा पेस गरिने बताए । एमालेले यसअघि संसदीय दलको बैठकबाट निर्णय गरी पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा दायर गरेको रिट मङ्सिर १० गते दर्ता भएको थियो ।
यसअघि कांग्रेसका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, आशा विक, नागिना यादव, सिता राना र शान्ति विकले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै मङ्सिर २३ गते रिट दायर गरिसकेका छन् । सोही रिटमा पूरक रिटका रूपमा हस्ताक्षरसहितको निवेदन दर्ता गर्न लागिएको हो ।





















