भक्तपुर – बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो । २८ गते बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो ।
नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै मतदान पुस २ गते बिहान ९ः३० बजेबाट सुरु भएको थियो ।
अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।
त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूले उम्मेदवारी दिएका छन् । यस्तै, तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।
नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन् ।
यस अघि मङ्सिर २८ गते १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै भदौ २०–२२ गते गोदावरीमा भएको विधान महाधिवेशनले गरेको निर्णय उल्टाएको थियो ।
विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले २८ गतेको अन्तिम केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको थियो । वरिष्ठ उपाध्यक्ष पद थपिएन । विगतमा सो पद रहेको थियो ।
निर्वाचन आयोगले २८ गते आइतबार साँझ निर्वाचन कार्यतलिका प्रकाशन गरेको थियो । आइतबार प्रकाशन गरिएको कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहे पनि पटक पटक संशोधन हुँदै मंगलबार साँझ पुर्याइएको थियो । मंगलबार साँझ अन्तिम समयमा प्राविधिक कारण देखाउँदै मतदान पुस २ गते बुधबार बिहान ८ बजेलाई सारिएको थियो । बिहान ८ बजे देखि हुने भनिएको मतदान साढे एक घण्टा ढिला गरी ९ बजेमात्र सुरु भएको थियो ।
महाधिवेशनका लागि २२६३ प्रतिनिधि चयन भएकामा २२२७ जनाले मतदान गरेका छन्। ३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। मतदान सकिएपछि उपकरणहरू सिल गर्न लागिएको छ। अब केही बेरमा मतगणना सुरू हुनेछ। विद्युतीय मतदान भएकाले नतिजा आउने अधिकतम दुई घन्टा लाग्नेछ।
























