काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान निर्वाचन सफलतामा केन्द्रित गर्न सरकारलाई स्पष्ट सुझाव दिएका छन् ।
उनले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन अनिवार्य रहेको उल्लेख गर्दै त्यसतर्फ राज्यका सबै संयन्त्र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई असर पार्न सक्ने कुनै पनि गतिविधि, निर्णय वा कार्यशैलीबाट सरकार सचेत रहनुपर्ने बताए ।
उक्त जानकारी राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले दिए । राष्ट्रपति पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनु संविधानको कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले निर्वाचन प्रक्रियालाई प्रभावित नगर्ने गरी सरकारका दैनिक गतिविधि, नीति तथा कार्यक्रम सञ्चालन गर्न समेत सुझाव दिए । साथै, चुनावको वातावरण सहज बनाउन सबै राजनीतिक दल, सुरक्षा निकाय र प्रशासनले आपसी समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रपतिले निर्वाचनलाई लक्षित गरी अघिल्ला निर्वाचनको अनुभवबाट सिक्दै यसपटक अझ बढी तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई निर्देशन दिएका थिए । शान्ति, सुरक्षा र सुव्यवस्थाको सुनिश्चितताले मात्र नागरिकलाई निर्भीक भएर मतदान गर्ने वातावरण निर्माण हुने उनको भनाइ थियो ।
सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा देशको समग्र सुरक्षा अवस्था, चुनौती र भावी रणनीतिबारे उल्लेख गरिएको जनाइएको छ ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा उत्पन्न हुन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीहरूको यथोचित मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने मूल आधार नै समयमै हुने निर्वाचन भएकाले त्यसको सफलतामा कुनै कसर बाँकी नराख्न सबै पक्षलाई आह्वान गरिन ।





















