चितवन – नारायणगढस्थित लिटिल फ्लावर स्कुलले आज विद्यार्थी ज्ञान मेला (Student’s Knowledge Fair) भव्य रूपमा आयोजना गर्यो। कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले विभिन्न विषयसँग सम्बन्धित ज्ञान, सिर्जनात्मक परियोजना, वैज्ञानिक नमूना र प्रदर्शनहरू प्रस्तुत गर्दै आपसी सिकाइ र अनुभव आदान–प्रदान गरेका थिए।
मेलामा विद्यार्थीहरूले विज्ञानका मोडल, प्रविधिमा आधारित परियोजना, कला–कृति, सामाजिक अध्ययनका प्रदर्शनी, पर्यावरणसम्बन्धी सचेतना गतिविधि लगायतका आकर्षक सामग्री प्रदर्शन गरेका थिए। शिक्षकहरूले विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै सिकाइलाई अझ सजीव र व्यावहारिक बनाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक फादर मञ्जुष CST ले ज्ञान मेलाले विद्यार्थीहरूको सिप विकास, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए।
उनले भने, “लिटिल फ्लावर स्कुलले केवल पाठ्यसामग्रीमै सीमित भएर होइन, व्यवहारिक शिक्षा र सीपमा आधारित सिकाइलाई पहिलेदेखि नै प्राथमिकता दिएको छ। आजको प्रदर्शनले हाम्रो विद्यार्थीहरूको क्षमताको उत्कृष्ट झल्को दिएको छ।”
त्यसैगरी विद्यालयका जनसम्पर्क अधिकृत (Public Relations Officer) गोविन्द प्रसाद ले यस्तो मेला विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ मजबुत बनाउने बताए। उनका अनुसार, “ज्ञान मेलाले विद्यार्थीको आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्यमा उपयोगी हुने सीप र सोचलाई पनि सुदृढ बनाएको छ। विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”
मेलामा उल्लेख्य सङ्ख्यामा आएका अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै विद्यालयले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूको प्रशंसा गरेका थिए।





















