चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा रोबोटिक सर्जरी सेवा शुरु भएको छ । नेपालमा दोस्रो र उपत्यका बाहिर पहिलो पटक सिएमसीले रोबोटिक सर्जरी सेवा शुरु गरेको हो ।
रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङका अनुसार अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको छ । डा. गुरुङ सहित जिआई सर्जजहरु डा. विशाल आचार्य र डा. रोहित कुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी शुरु गरिएको हो ।

डा. गुरुङका अनुसार ओपन सर्जरी (चिरेर गरिने) र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उहाँले भन्नुभयो “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो । यसमा कम्प्युटर डिभाइस, सिस्टम र राम्रो प्रविधि जडित हुन्छ ।” त्यही प्रविधिको सहायताले सर्जनले शल्यक्रिया गर्ने उहाँले बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “रोबटले नै सबै शल्यक्रिया गर्ने भने होइन । सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गर्ने हो ।”
उहाँले स्पष्ट पार्दै भन्नुभयो “रोबोटिक सर्जरी भनेको यस्तो शल्यक्रिया हो जसमा चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरू (Robotic Arms) को माध्यमबाट अप्रेशन गर्दछन् ।” यस प्रकारको अप्रेशनमा चिकित्सकले कम्प्युटर प्रविधिको सहायताले अपरेशन टेबलमा भन्दा टाढा बसेर कम्प्युटर स्क्रिनमा उपकरणको गति र दिशा नियन्त्रण गरेर शल्यक्रिया सञ्चालन गर्ने उहाँको भनाई छ ।
परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचारहरू गर्न सकिने डा. गुरुङले बताउनुभयो ।
रोबोटिक शल्यक्रियाको अवधारणा सन् १९८० दशकको अन्त्यतिर देखा जानकारी दिंदै उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “सुरुवाती समयमा यो प्रविधि अमेरिकी सेनाले टाढाबाट अपरेशन गर्न सक्ने प्रविधिका रूपमा विकास गरेको थियो, जसको उद्देश्य युद्धको मैदानमा रहेका घाइते सैनिकको तत्काल उपचार गर्नु थियो ।” सन् १९९० पछि यो प्रविधि अस्पतालहरूमा प्रयोग गर्न थालिएको भन्दै डा. गुरुङले सन् २००० तिर दा भिन्ची सर्जिकल सिस्टम नामक पहिलो ब्यवसायिक रोबोटिक प्रणाली अमेरिकी खाद्य तथा औषधी निकाय एफडिएद्वारा स्वीकृत भएपछि यसको प्रयोग तीव्र रुपमा बढदै गएको उहाँले बताउनुभयो ।
यस प्रणालीले चिकित्सकलाई थ्रि डी दृश्य र उच्च प्रबिधिका उपकरण प्रयोग गरेर अपरेशन गर्न सहज बनाएको भन्दै उहाँले भन्नुभयो “जसलाई अपनाउदै विश्वका प्रमुख अस्पतालहरुमा यो प्रबिधिको प्रयोग गर्दै लाखौं बिरामीको उपचार हुदैँ आएको छ ।”
दक्षिण एशियामा रोबोटिक सर्जरीको विकास पछिल्ला केही वर्षहरूमा उल्लेखनीय गतिमा अघि बढिरहेको बताउँदै उहाँले विशेषगरी भारत, श्रीलंका र पाकिस्तानमा यो प्रविधिको विस्तार गत दशकमा अत्यन्त तीव्र रूपमा भएको जानकारी दिनुभयो । डा. गुरुङले भन्नुभयो “सर्जरीका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ, जसमा रोबोटिक सर्जरीले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ ।”
भारतमा सन् २०१० पछि रोबोटिक सर्जरी प्रविधि तीव्र गतिमा फैलिन थालेको भन्दै उहाँले सुरुवाती चरणमा यो प्रविधि केही ठूला अस्पतालहरूमा मात्र प्रयोग गरिएको भए पनि अहिले दिल्ली, मुम्बई, चेन्नई, बैंगलोर, हैदराबाद, कोलकाता लगायतका प्रमुख शहरका अस्पतालहरूले यसलाई नियमित अभ्यासको रूपमा अपनाइसकेको जानकारी दिनुभयो ।
न्यूनतम पीडा, कम रक्तस्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी प्रयोग भएको बताउनुभयो ।
रोबोटिक सर्जरीमा प्रयोग हुने उपकरणहरू अत्यन्त संवेदनशील र सूक्ष्म हुने डा. गुरुङको भनाई छ । उहाँले थप्नुभयो “यी उपकरणहरूले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्मी र सानातिना गतिका शल्यक्रिया गर्न सक्छन् । यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र अप्रेशनको परिणाम अत्यन्तै विश्वासिलो र सुरक्षित हुन्छ ।” यस प्रविधिको प्रयोगले जटिल शल्यक्रियाहरू सजिलै सम्पन्न गर्न, पुनः स्वास्थ्य लाभको समय घटाउन, र बिरामीको दुखाइ कम गर्न लतायत छिटो स्वास्थ्य लाभ गर्न मद्दत गर्दछ ।
नेपालमा क्यान्सर, मुटु, मूत्र प्रणालीका रोग, स्त्री रोग र जटिल शल्यक्रियाहरू बढ्दो अवस्थामा रहेको भन्दै डा. गुरुङले यी रोगहरूको उपचारका लागि रोबोटिक प्रविधि अत्यन्त उपयोगी हुने बताउनुभयो । नेपालमा यो प्रविधि भित्रिएपछि बिरामीहरूले भारत वा अन्य देशमा जानुपर्ने बाध्यता हटेको उहाँको भनाई छ ।
सानु प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उहाँको भनाई छ । परम्परागत प्रविधिहरूको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा लचिलोपन, सटीकता र नियन्त्रणमा सुधार हुने उहाँको भनाई छ । रोबोटिक प्रविधि प्रयोग गरेर संवेदनशील र जटिल उपचारहरू गर्न सकिने बताउँदै उहाँले कान्तिपुर हेल्थलाई भन्नुभयो “अन्य प्रविधिहरूसँग चुनौतीपूर्ण वा असम्भव हुन सक्ने शल्यक्रिया पनि यो प्रविधिबाट गर्न सकिन्छ ।”
यो प्रविधिको सहायताले सबैभन्दा कठिन शल्यक्रिया पनि सजिलै गर्न सकिने उहाँको भनाई छ । उहाँले अगाडि थप्नुभयो “शरीरका कतिपय अंगहरु यस्ता हुन्छन्, जसमा पुग्न गाह्रो र खतरनाक हुन्छ । यो शल्यक्रिया क्यान्सर जस्तो खतरनाक रोगमा पनि प्रभावकारी हुन्छ । रोबोटिक शल्यक्रियामा चिकित्सकले बनाएको प्रोग्राम अनुसार रोबोटले शल्यक्रिया गर्छ ।”
यो प्रविधिबाट कठिन स्थानमा रहेको गाँठो अथवा क्यान्सर कोष सजिलै हटाउन सकिने भन्दै डा. गुरुङले भन्नुभयो “बिरामीको शरीरमा राखिएको विशेष क्यामेराले शल्यक्रिया स्थलको थ्रीडी दृश्य देखाउँछ । रोबोटिक उपकरणमा एक विशेष प्रविधि हुन्छ जसलाई ‘इन्डोरिस्ट’ भनिन्छ । यो प्रविधिले एकदमै जटिल शल्यक्रिया पनि सहज र प्रभावकारी तरिकाले गर्छ ।”
पित्त थैली हटाउने, हर्निया, आन्द्रासम्बन्धी, पाठेघर निकाल्ने, पाठेघरमा पलाएको मासुको डल्लो मात्र निकाल्ने र इन्डोमेट्रिओसिस भनिने समस्या आदिको उपचारका लागि रोबोटिक शल्यक्रिया गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रोबोटको सहयोगमा प्रोस्टेट निकाल्ने, मिर्गौलाको शल्यक्रिया र मूत्रथैलीको शल्यक्रिया सहज गर्न सकिन्छ ।”
यसैगरी मुटुको भल्ब मर्मत, कोरोनरी नामक धमनी बाइपास एवं यसको ग्राफ्टिङ्ग लगायत जटिल मुटुरोग सम्बन्धी शल्यक्रियाहरू रोबोटिक प्रणालीबाट गर्नु फाइदाजनक हुने डा. गुरुङको भनाई छ । उहाँले अगाडि थप्नुभयो “रोबोटिक सर्जरीको माध्यमबाट रिफ्लक्स (आमाशयको अम्लमिश्रित खानेकुरा खाद्यनलीतिर फर्किने) समस्या, खाद्यनलीको क्यान्सर, आन्द्रा, मलद्वारका समस्याको शल्यक्रिया गर्न सकिन्छ ।”
रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उहाँले यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताउनुभयो । उहाँले अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुने बताउनुभयो । उहाँले थप्नुभयो “रोबोटिक सर्जरीमा एकदमै अत्याधुनिक कम्प्युटर सिस्टम भएको कारण गतिविधिहरु एकदम छरितो हुन्छन् । त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रिहरूमा धेरै फाइदा हुन्छ ।”
रोबटिक सर्जरी शुल्क केही महंगो पर्ने भएपनि अस्पताल बसाई कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाईदा नै हुने डा. गुरुङको भनाई छ । बिरामीलाई कम दुखाई, कम इन्फेक्सन (सङ्क्रमण) को सम्भावना हुने भन्दै डा. गुरुङ्ले अस्पतालमा कम समय बस्नुपर्ने र रिकभर हुन कम समय लाग्ने बताउनुभयो । रोबोटिक सर्जरीलाई सर्जरीको भविष्य मानिएको भन्दै डा.गुरुङले कान्तिपुर हेल्थलाई भन्नुभयो “यसले संसारभरि नै परम्परागत अप्रेसनहरूलाई बिस्तारै विस्थापित गर्दै लगेको छ ।”
सिएमसीमा भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको टुमाई नामक रोबोटिक सिस्टम हो । ३२ करोड रुपैयाँ लागतमा भित्र्याईएको यो प्रविधि साङ्घाई, चाइनामा निर्मित युरोपियन सेफ्टी सर्टिफिकेशन पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ । चीनमा बेनको यो रोबोटिक सिस्टम चीनमा धेरै मात्रामा प्रयोगमा आएको छ । यसका साथै भारत, पाकिस्तान, मध्य पूर्वी देशहरु, युरोप, रसिया लगायत विश्वका अधिकांश देशहरुमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।






















