काठमाडौं । विभिन्न वामपन्थी दलहरूलाई एकीकृत गर्दै गठन गरिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले शुक्रवार निर्वाचन आयोगबाट आधिकारिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० भन्दा बढी वामपन्थी समूहहरूलाई समेटेर तयार भएको यो नयाँ पार्टीले दल दर्तासँगै आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेको छ ।
दल दर्ता प्रमाणपत्र प्राप्त गर्ने क्रममा पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेल लगायतको टोली निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगिएको थियो । आयोगमा आवश्यक कागजातहरू समयमै बुझाइएकाले दर्ता प्रक्रिया सहज रूपमा सम्पन्न भएको बताइएको छ ।
एकीकृत पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दर्ता प्रमाणपत्र प्राप्त भएपछि एकीकरण अभियानलाई अझ सुदृढ रूपमा अगाडि बढाइने उल्लेख गरेका छन् । उनका अनुसार देशभर छरिएका वामपन्थी शक्तिहरूलाई एउटै राजनीतिक ध्रुवमा ल्याउनु पार्टीको प्रमुख उद्देश्य हुनेछ ।
प्रचण्डले दल दर्तालाई ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै आगामी निर्वाचनमा पार्टीले बलियो शक्ति बनेर उदाउने दाबी पनि गरे । उनका अनुसार वामपन्थी दलबीचको एकता वैचारिक स्पष्टता, स्थिरता र जनताको विश्वास कायम गर्न जरुरी रहेको छ ।
नयाँ पार्टी दर्तासँगै देशको वाम राजनीतिमा नयाँ उर्जा र पुनर्संयोजनको सुरुआत भएको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ । पार्टीले आगामी दिनमा संगठन विस्तार, नीति–कार्यक्रम निर्माण तथा जनस्तरसम्म पुग्ने अभियानलाई तीव्र पार्ने तयारी गरेको जनाएको छ ।






















