काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको छन् ।
महासङ्घले आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आम सर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बारा सार्वजनिक महत्त्व को प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताए।
“दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवा पुस्ता लगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो”, उनले भने, “सरकारले यसतर्फ प्रयास गरिरहेको पनि छ ।
हामी निजीक्षेत्र पनि सम्पूर्ण रूपमा शान्ति स्थायित्व र समृद्धिका लागि समयमै निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछौँ । यसमा निजीक्षेत्र सहयोग र सहकार्य गर्न तयार छ ।”
अध्यक्ष ढकालले अर्थमन्त्री रामेश्वर खनालले हालैको एक कार्यक्रममा निजीक्षेत्र भनेको फल दिने वृक्ष हो भनेको स्मरण गर्दै यसलाई थप मलजल गरी बढीभन्दा बढी फल दिनेगरी संरक्षण गर्न सकियो भने मात्रै मुलुकले अधिकतम लाभ लिनसक्ने र मुलुक समृद्ध बन्ने बताए।
युवा पुस्ताको आन्दोलन र मागबमोजिम मुलुकमा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने प्रयत्नमा सरकार लागेको समयमा निजीक्षेत्र पनि खरानी टक्टक्याउँदै जुर्मुराउन खोजिरहेको उनको भनाइ छ ।





















