काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी ११औं महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी नदिन आग्रह गरेका छन्।
एक अन्तर्वार्तामा बोल्दै भट्टराईले ओली अहिले स्वेच्छिक अवकाश लिने उमेर र चरणमा पुगेको बताउँदै अब पार्टीमा नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने बताएका छन्। उनले भने, “हाम्रो पार्टी अध्यक्ष पनि स्वेच्छिक अवकाश लिने ठाउँमा पुग्नुभयो। अब एघारौँ महाधिवेशनमा उम्मेदवारी दिनुभयो भने चौथोपटक उहाँको उम्मेदवारी हुन्छ। दिनुभएन भने तेस्रोपटक हुन्छ।”
भट्टराईले ओलीले आफैंले स्थापित गरेको ७० वर्षे उमेर र दुई कार्यकालको मान्यता पालना गर्नुपर्नेमा जोड दिए। उनले थपे, “उहाँले भनेका थिए— एउटै क्लासमा पटकपटक परीक्षा दिन्नँ। ती वास्तवमा आदर्श व्यक्तित्वकै भनाइ हुन्। त्यसैले उहाँ आफ्ना मान्यतामा अडिनुहोस्।”
उनका अनुसार ओलीले यदि प्रतिस्पर्धामा नउत्री आफ्ना मूल्य र आदर्शमा दृढ रहँदै पद छाडे भने जनसमर्थन अझ बढ्नेछ। “त्यसो गर्नुभयो भने लाखौँ, करोडौँ फलोअर्स बढ्नेछन्। उहाँको पूजा नै हुने अवस्था आउँछ,” उनले भने।
तर, उनले चेतावनीका स्वरमा भने, “हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने त्यो उहाँको महापराजय हुनेछ। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु। उहाँ जितेरै जानुस् ।”
























