काठमाडौं । वाम आन्दोलनलाई सशक्त बनाउन नेकपा एकीकृत समाजवादी नेकपा माओवादीसँग एकता गर्ने पक्षमा उभिएकाे छ । नयाँ वाम केन्द्र बनाउने दिशामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच ऐतिहासिक एकताको प्रक्रिया निर्णायक चरणमा पुगेको संदेश एकीकृत समाजवादीले दिएकाे छ ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाका अनुसार, पार्टी एकताको निर्णय सम्भवत नजिकनै हुने गरी बैठकमामा छलफल भएकाे र यही महिनाभित्र यसको औपचारिक घोषणा हुने तयारी भइरहेको छ ।
खतिवडाले कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका विभाजनका ‘रोगहरू’लाई चिर्नेगरी यसपालिको एकता अघि बढिरहेको स्पष्ट पारे । उनका अनुसार, वाम शक्तिहरू विखण्डन होइन, एकताको बाटोतर्फ उन्मुख भएका छन् ।
‘एमालेभित्र देखिएको अन्तसंघर्षले पनि धेरै इमानदार कार्यकर्तालाई नयाँ विकल्प खोज्न प्रेरित गरेको छ,’ खतिवडाले भने, ‘त्यसैले यो एकता केवल दुई दलबीचको सम्बन्ध होइन, वाम आन्दोलनको पुनर्जागरण हो ।’
उनले माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो र तेस्रो कम्युनिष्ट पार्टीका रूपमा रहेको भन्दै दुवै दल मिलेर देशमा मूलधारको एक सशक्त कम्युनिष्ट शक्ति निर्माण गर्न लागेको उल्लेख गरे ।
‘विश्व कम्युनिष्ट आन्दोलनको मूल आत्मा नै एकता हो,’ उनले भने, ‘त्यसलाई आत्मसात गर्दै हामी एकजुट हुँदैछौं, यसपटकको एकता स्थायित्व र सिद्धान्तमा आधारित हुनेछ ।’
यता एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माओवादी केन्द्रसँगको एकतालाई वाम आन्दोलन सुदृढ पार्ने ऐतिहासिक अवसरका रूपमा लिएको बताएकी छन् ।
उनका अनुसार, वाम एकता देशको स्थायित्व, आर्थिक रूपान्तरण र सामाजिक न्यायको आधार हो । यद्यपि, उनले एकता प्रक्रियामा सबै पक्षको सहभागिता सुनिश्चित गर्न आवश्यक परामर्श र संवाद अझ व्यापक हुनुपर्ने सुझाव दिइन् ।
‘वाम एकता नचाहने कोही हुँदैन,’ उनले भनिन्, ‘तर, यो प्रक्रिया अझ समावेशी र विचारमा आधारित हुनुपर्छ । सबै वामपन्थी शक्तिहरूले साझा एजेन्डामा सहकार्य गर्न सके भने यो देशको राजनीति नयाँ मोडमा पुग्छ ।’
झाँक्रीले माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहकार्यले वाम आन्दोलनको दिशा स्पष्ट हुने बताइन् । उनका अनुसार, केही असन्तुष्टता प्राकृतिक हुन्, तर ती संवाद र विश्वासको माध्यमबाट समाधान गर्न सकिने छन् । तर, उनि एकता प्रक्रियामा सहभागी नहुने दाबी गर्दै आएकी छिन् ।
माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने उनकाे भनाइ छ । माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले घाेषणाा छ ।
दुवै नेताहरूका अभिव्यक्तिले वाम शक्तिहरूबीच एकता अपरिहार्य भएको सन्देश दिएका छन् । विगतका कमजोरी चिर्दै सिद्धान्त, संगठन र व्यवहारमा एकताबद्ध वाम शक्ति निर्माण गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको सहकार्यले नयाँ राजनीतिक युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।





















