भरतपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिस्थिति सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत समृद्धिको बाटोतर्फ लैजानुको कुनै विकल्प नरहेको बताएका छन् ।
आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थिति सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै पक्षलाई त्यसमा होमिनुपर्नेमा जोड दिए ।
संयोजक प्रचण्डले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकोले तल्लो तहसम्मका नेताकार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको बताए । उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ ।’
उनले थपे, ‘मैले नेपाली कांग्रेसलगायतका दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’
संयोजक प्रचण्डले अन्य कुरामा अल्मलिएर निर्वाचनमा केन्द्रित नहुन सरकारलाई आग्रह गरे । यसैगरी, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनले बताए ।
उनले भने, ‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादी सहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ ।’





















