काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको हालै सम्पन्न बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत असोज २६ देखि ३० गतेसम्म बसेको बैठकका निर्णयहरू सार्वजनिक गरिएका हुन् ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिअनुसार नेकपाले नेपालमा प्रचलनमा रहेका ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचार, तस्करी र माफियातन्त्रमार्फत सञ्चित कालोधन नियन्त्रण गर्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने नेकपाको माग छ ।
बैठकले कृषि उत्पादनलाई अझ सुदृढ बनाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विगतदेखि नै उत्पादनसँग पार्टीलाई जोड्दै आएको नेकपाले यो वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित ढंगले अघि बढाउने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, बैठकले हालै सम्पन्न जेनजी विद्रोह सफल भए पनि जेनजीहरू आफ्ना एजेन्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । साथै, उक्त आन्दोलनपछि कम्युनिस्ट शक्तिहरूबीच एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता अझ बढेको निष्कर्षमा बैठक पुगेको छ ।
यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध दलहरू, माओवादी घटकहरू र अन्य सबै कम्युनिस्ट पार्टीसँग छलफल र सहकार्य बढाउने तथा जहाँबाट सम्भव छ, त्यहाँबाट योगदान गर्न तयार रहने निर्णय गरेको जनाएको छ । एकताकाे पक्षामा आफुहरुले विप्लव नेतृत्वको नेकपाले सन्देश दिएकाे छ ।
























