काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्माले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको बताएका छन् ।
विहिबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उनले आफूलाई दिइएको ५ मिनेटको समय अस्वीकार गर्दै उनले पार्टीभित्र आलोचनात्मक आवाजलाई दबाउने र चाकडी गर्ने प्रवृत्ति हाबी भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘यो पाँच मिनेटको समय म खारेज गर्छु मेरो तर्फबाट म आधा घण्टा बोल्न चाहन्छु।’ उनले पार्टी कमिटीमा आफ्ना कुरा राख्न नपाउने अवस्था आए बाहिर मिडियामा जानुपर्ने बाध्यात्मक अवस्था आउने चेतावनी दिए ।
‘आज हामी जहाँ छौँ, जसरी छलफल चलिराखेको छ, यो केन्द्रीय समितिको बैठक हो कि अर्कै केही बैठक हो भन्ने पनि मलाई अनुभूति भइरहेको छ, केन्द्रीय समितिको बैठकमा पनि प्रदेश–प्रदेशमा आएर छलफल गर्नुपर्ने स्थिति र वातावरण किन सिर्जना भयो ?’ उनले प्रश्न गरेका छन् ।
शर्माले पार्टीभित्र आलोचना गर्नेलाई ‘घुसपैठिया’ र नेतृत्वको प्रशंसा गर्नेलाई मात्र ‘आफ्नो’ ठान्ने प्रवृत्ति बढेको भन्दै कडा टिप्पणी समेत गरे ।





















