काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले आज सार्वजनिक गरेका तीन बुँदे निर्देशनमा माध्यमिक तहका विद्यार्थीलाई कम्प्युटर शिक्षाबाट वञ्चित हुन नदिन प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्नुपर्ने उल्लेख छ ।
त्यस्तै, केही विश्वविद्यालयले परीक्षा सञ्चालनपछि नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको अध्ययनमा गम्भीर असर परेको भन्दै उनले अधिकतम तीन महिनाभित्र नतिजा प्रकाशित गर्न निर्देशन दिएका छन् । समयमै नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी पनि उनले दिएका छन् ।
अर्को निर्देशन अनुसार, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरको झाडी फाँडेर (ठूला रुख नकटाई) सफाइ गर्ने, सुन्दर बगैँचा र फुटपाथ निर्माण गरेर परिसरलाई आकर्षक बनाउने व्यवस्था गर्नुपर्ने छ ।





















