चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र कर्फ्यु लगाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आज बिहान सूचना जारी गर्दै कर्फ्यु लगाइएको जनाउनुभएको हो ।
आज दिउँसो १२ः०० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि भनेर भरतपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको अर्यालले जनाउनुभयो । उहाँकाअनुसार भरतपुर महानगरपालिका क्षेत्रभित्र जारी गरिएको कर्फ्युमा पूर्वतर्फ केन्द्रीय बस टर्मिनल, पश्चिमतर्फ नारायणी पुल (पुलचोक), उत्तरतर्फः पोखरा बसपार्क देखि विशालचोक र दक्षिणतर्फ त्रिचोकसम्म कर्फ्यु जारी गरिएको हो । खासगरी भरतपुर महानगरपालिका र वडा नम्बर १० भित्रका सरकारी कार्यालयलाई लक्षित गरी कर्फ्यु जारी गरिएको छ ।
जारी आदेशमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम चितवन जिल्लाको भरतपुर महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो क्षेत्रभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।’
कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाइएको छ ।
कर्फ्युको आदेश अवज्ञा गरे कानुनअनुसार कारबाही गरिने उहाँको भनाइ छ ।





















