चितवन । चितवनमा भएको जेन-जीको आन्दोलनमा चितवनको भरतपुरस्थित कालिका एफएमका निर्देशक दीपक पौडेल घाइते हुनुभएको छ । भरतपुर महानगरपालिका अगाडि भएको झडपमा प्रदर्शनकारीले प्रहरीलाई प्रहार गरेको ढुङ्गा लाग्दा पौडेलको बायाँ हात भाँचिएको छ ।
अहिले उहाँको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। समाचार सङ्कलनको लागि घटनास्थल पुग्नुभएका पौडेललाई ढुङ्गाले लागेको सँगै रहनुभएका पत्रकार रमेशकुमार पौडेलले बताउनुभयो ।
घाइते पौडेलको अवस्थाबारे बुझ्न भरतपुर अस्पताल विकास समितिको अध्यक्ष राजु पौडेल, बागमती प्रदेशकी पूर्व सांसद रीना गुरुङ लगायत अस्पताल पुग्नुभएको छ ।
आन्दोलनमा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ घाइते भएका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकाबाट पनि प्रहरीमाथि ढुङ्गामुढा वर्षाएका थिए ।





















