काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी कदम भनेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो प्रहार भएको आरोप लगाए ।
उनका अनुसार सरकारले आलोचना दबाउन मुद्दा थोपर्ने, आफ्नालाई जोगाउने र स्वतन्त्र आवाजलाई नियन्त्रण गर्ने गतिविधि निरन्तर गरिरहेको छ । “सामाजिक सञ्जाल बन्दले विदेशमा रहेका नेपाली श्रमिक र परिवारबीचको सम्पर्क समेत असहज भएको छ,” प्रचण्डले भने ।
सर्वोच्च अदालतको आदेशलाई अपव्याख्या गर्दै सरकारले कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गरेको उनको आरोप छ । संसदमा विचाराधीन विधेयकलाई छलफलमार्फत अघि बढाउनुपर्नेमा सरकारले एकल निर्णय लिनु आपत्तिजनक भएको उनले स्पष्ट पारे ।
‘संविधान प्रदत्त अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न यो निर्णय तत्काल खारेज गर्नुपर्छ,’ प्रचण्डले जोड दिए ।





















