काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता नवराज पुडासैनी ‘गुराँस’ द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण समारोह बुधवार नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ।
नेपाल प्रज्ञा–प्रतिष्ठान समाजशास्त्र विभागद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनेछन्। त्यस्तै, विशेष अतिथि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहनेछन्।
समारोहमा पुस्तक विमोचनसँगै विषयगत छलफल पनि हुने आयोजकले जनाएका छन्। लेखक पुडासैनीका अनुसार ‘संघर्षमा सिरानचोक’ पुस्तकमा गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट जनयुद्धका क्रममा भएका सहिद, बेपत्ता, घाइते तथा कारागार जीवनजस्ता अनुभव र वाम आन्दोलनसँग सम्बन्धित इतिहासलाई समेटिएको छ।
आयोजक नेपाल प्रज्ञा–प्रतिष्ठानले पुस्तकमार्फत नेपाली समाज, राजनीति, संस्कृति र समसामयिक जीवनका विविध आयाममा नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।






















