काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्किएको छ ।
मंगलबार सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरूलाई हस्ताक्षर गर्न निर्देशन दिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतको समूहले असहमति जनाएको हो ।
बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पदाधिकारी बैठकले हस्ताक्षर संकलन गर्ने निर्णय गरेको थियो । त्यसपछि संसदीय दलमार्फत हस्ताक्षर संकलन सुरु भएको हो । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा समेत हस्ताक्षर भइरहेको थियो । तर, कोइराला समूहले यसलाई विरोध गर्दै सांसदहरूलाई ‘खाली कागजमा हस्ताक्षर नगर्न’ निर्देशन दिएको छ ।
डा. कोइरालाले रानालाई हटाउने प्रस्तावलाई ‘बेमौसमी बाजा’ भन्दै आफ्ना निकट सांसदहरूलाई हस्ताक्षर नगर्न आग्रह गरेका छन् । अमेरिकामा रहेकी उपसभामुख रानाले मंगलबार साँझ उनलाई टेलिफोन गरेर चासो व्यक्त गरेकी थिइन् । यसअघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि कोइरालाले आफू हटाउने तयारीको विरोधमा रहेको बताएका थिए ।
यसैबीच, रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनको तयारीस्वरूप भैरहवामा रहेका महामन्त्री विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै उपसभामुखलाई पदमुक्त गर्ने निर्णयप्रति असहमति जनाएका छन् । अमेरिकी दूतावासलाई पत्र पठाउनु गम्भीर गल्ती भए पनि पदमुक्त गर्ने विषय उपयुक्त नहुने उनको भनाइ छ ।
अर्का महामन्त्री गगन थापाले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बहुमत छ भनेर जे–पनि निर्णय गर्न नमिल्ने बताए । उनका अनुसार, संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक त हुन्छ, तर जनताले स्वीकार नगरेसम्म वैध हुँदैन ।
यसरी कांग्रेसभित्रै मतभेद बढेपछि सभापति देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीति जटिल बनेको स्रोतको भनाइ छ ।





















