काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सोरु गाउँपालिका–१ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविकभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको पुष्टि भएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार इन्जिनियर प्रकाश आचार्य, सव–इन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छत्याल, सह–संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही, सचिव मुकुन्दे दमाई, अनुगमन समिति संयोजक दलवीर सार्की, सदस्य पुने शाही र तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीविरुद्ध सात लाख छ हजार ७९९ रुपियाँ बिगो कायम गरी मुद्दा दायर भएको हो ।
मुख्यमन्त्री रोजगार कार्यक्रमको ३६ लाख ४० हजार र जनश्रमदान तीन लाख ७३ हजार ४३९ समेतको सम्झौता २०७८ जेठ १० मा भएको थियो । तर, सडक निर्माणमा लागत अनुमानअनुसार काम नगरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरेको आयोगको ठहर छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी सहित आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको छ ।





















