भरतपुर – चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन गरिएको “तेश्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८२” को भरतपुर नगरपालिकाकी प्रमुख रेनु दाहालले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्षले स्वागत मन्तव्य सँगै मेलाको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महिला उद्यमीहरुको पहलमा भएको यस मेलाले महिला उद्यमीहरुमा उद्यमशिलताको विकाससँगै स्वरोजगार बन्न प्रेरित गर्ने बताउनुभयो ।
तीज गीत प्रतियोगिताको प्राविधिक सहकार्य संस्था व्यूटीफुल माईण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीका स्वास्थ्यकर्मीहरुबाट स्वागत गीत प्रस्तुत भएको कार्यक्रममा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै चितवन उद्योग वाणिज्य संघका कार्य वाहक अध्यक्ष चिरञ्जीवी सुवेदी, सम्पूर्ण वडाअध्यक्षज्यूहरुको प्रतिनिधित्व गर्दै भरतपुर महानगरपालिका वडा नं. १० का वडाअध्यक्ष प्रमेश्वर खनाल, महिला उद्यमी मञ्चको पूर्व अध्यक्षज्यूहरुको तर्फबाट पूर्वाञ्चल विश्व विद्यालयका रजिष्टार एवम् चितवन उद्योग संघ, महिला उद्यमी मञ्चका पूर्व अध्यक्ष प्रा.डा.कल्याणी मिश्र, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको प्रतिनिधित्व गर्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत श्री पुण्य विक्रम खड्का, स्थानीय पालिका प्रमुखहरुको तर्फबाट इच्छाकामना गाउँपालिका कार्यालयका कार्य वाहक अध्यक्ष माया सिलवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.शारदा थपलिया, जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, संरक्षक संस्था, चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मेला अन्तर्गत चर्चित हाँस्य कलाकार मनोज गजुरेलले देशको राजनीतिक, आर्थिक अवस्थालाई हाँस्यव्यग्य मार्फत आफ्नो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा लामो समयदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको व्यूटीफुल माईण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीको प्राविधिक सहयोगमा “मानसिक स्वास्थ्य हाम्रो सरोकार, जागरुक उद्यमी समृद्ध परिवार” विषयक तीज गीत प्रतियोगिता समेत सम्पन्न भएको थियो । आठ समूहहरुको सहभागिता रहेको प्रतियोगिताको मुख्य निर्णायकमा अमर बिरही गुरुङ, निर्णायकहरुमा चन्द्रा गुरुङ र डा.गिरीराज भन्तना रहनुभएको थियो ।
प्रतियोगितामा अरोमा ईङ्लिस स्कुलले प्रथम स्थान, भानु आदर्श महिला समूह, कावासोतीले द्धितीय स्थान, शहनसिला बुहारी समूह, भरतपुर–२२, चितवनले तृतीय स्थान र गैंडाकोट नगरपालिका गैडाकोटले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रतियोगितामा प्रथम हुने समूहलाई रु.२०,०००।–, द्धितीय हुने समूहलाई १५,०००।– र तृतीय हुने समूहलाई १०,०००।– र सान्त्वनालाई रु ५,०००।– नगद पुरस्कार प्रदान गरिएको थियो ।
चितवन औद्योगिक विकास साकोसकी व्यवस्थापक प्रमिला थापाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी उपाध्यक्ष सरिता खनाल पौडेलले धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।





















