काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भएको छ ।
“हिजो रातिदेखि सुरु भएको वर्षा आज रातिसम्म केही स्थानमा भारी हुने सम्भावना छ,” महर्जनले भने । आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा हुने अनुमान छ । महाशाखाको तीनदिने मौसम पूर्वानुमानअनुसार आगामी तीन दिन सातै प्रदेशमा आंशिकदेखि पूर्ण बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।





















