काठमाडाैं । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणाको विषय नेकपा एमालेको बैठकमा प्रवेश गरेको छ । च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपतिको विषयले प्रवेश पाएको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी ओलीले नै भण्डारीसँग छलफल गर्नुपर्ने र आवश्यक परे सचिवालय, केन्द्रीय कमिटीमा छलफल हुने बताएका एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकका बारेमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले भने, ‘छलफल हुन्छ । अध्यक्षले नै छलफल गर्नुपर्छ भन्नुभएको छ । उहाँ (भण्डारी)ले सार्वजनिक ढंगले घोषणा गरिसकेपछि उहाँको निजी विषय मात्रै भएन । यो पार्टीको सार्वजनिक विषय भयो ।’
पूर्वराष्ट्रपतिले सबै सेवा-सुविधा त्यागेर पार्टी राजनीतिमा फर्कने घोषणा गरेकाले उनलाई सम्मानजनक ठाउँ दिनुपर्ने प्रस्ट पारे । ‘उहाँ आउनुहुन्छ पार्टीमा सक्रिय हुन भने उहाँलाई उचित स्थान पनि दिनुपर्छ। उहाँको सम्मानजनक ठाउँ पनि खोज्नुपर्छ । पार्टीको हाई लेभलमा कुराकानी होस् भन्ने हाम्रो चाहना छ ।’
एमालेको संगठन निर्माणमा भण्डारीको ठुलो भूमिका रहेको उल्लेख गर्दै भट्टराईले थपे, ‘उहाँले पार्टीको प्रणाली बुझ्नुभएको छ, यो पार्टी स्थापनामा उहाँको पनि ठुलो भूमिका छ । त्यसकारण उहाँजत्तिको मान्छेले पार्टीको प्रणालीबाटै जानुहुन्छ । मलाई लाग्छ, यसलाई हामी सम्मानजनक ढंगले नै सेटल गर्छौँ ।’
बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैंले पूर्वराष्ट्रपतिको राजनीतिमा फर्किने चहानाबारे नेताहरूसँग सोधीखोजी गरेका थिए । उनले पूर्वराष्ट्रपतिबारे के गर्ने भनेर सोधेपछि नेताहरूले आवश्यक संवाद गरेर उचित जिम्मेवारीमा फर्काउँदा हुने सुझाएका छन् । भट्टराईले पूर्वराष्ट्रपतिले एमालेमा फर्किन घोषणा गरिसकेको अवस्थामा बैठकमा नेताहरूले अध्यक्ष ओलीले अग्रसरता लिएर संवाद गर्नुपर्ने सुझाव दिएको बताइएकाे छ ।
एमाले ११ जनाकाे पदाधिकारी बनाउन प्रस्ताव
एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव अघि बढेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारी मात्रै राख्ने गरी उक्त प्रस्ताव गरेका हुन ।
अहिले एमालेमा रहेका १९ जना पदाधिकारीलाई घटाएर ११ जना मात्रै राख्ने गरि विधान संशोधन प्रस्ताव उपाध्यक्ष पौडेलले बैठकमा राखेका छन् । पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा एकजना अध्यक्ष , तीनजना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव र पाँचजना सचिव रहने प्रस्ताव गरिएको छ । बैठकमा १९९ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ ।
एमालेको २०७८ मंसिरमा भएको १०औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी तय गरेको थियो । जसमा अध्यक्ष केपी शर्मा ओलीसहित १९ जना पदाधिकारी थिए । महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र ७ जना सचिव तय गरेको थियो ।





















