चितवन – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्याधुनिक रोश बेंचमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) (Roche Benchmark Ultra Immunohistochemistry (IHC) मेसिन सञ्चालनमा ल्याएको छ ।
विश्व प्रसिद्ध स्विस कम्पनी ‘रोश’ (Roche) ले निर्माण गरेको यो मेसिन सञ्चालनमा आएसँगै अब क्यान्सरको टाईप (प्रकार) परीक्षणका लागि नमूना भारत पठाउनु पर्ने बाध्यता अन्त्य भएको हो ।
अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेका अनुसार यसअघि क्यान्सरको पहिचान तथा वर्गीकरणका लागि अत्यावश्यक मानिने आइएचसी परीक्षण नेपालमै सम्भव नहुँदा बिरामीका बायोप्सी (टिशु नमूना) भारत पठाइनुपथ्र्यो । डा. पाण्डेले अगाडि थप्नुभयो “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको क्यान्सर हो भन्ने पत्ता लगाउन यो मसिन उपयोगी छ ।”
क्यान्सरको प्रकार पत्ता लगाईसकेपछि बिरामीलाई शल्यक्रिया, केमोथेरापी, रेडिएसन थेरापी कुन दिनु पर्ने हो सोही अनुसार उपचार गर्न सहज हुने उहाँको भनाई छ । यो परीक्षण मासुको नमूनामा गरिने परीक्षण भएको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा देखिने ‘टप टेन कमन क्यान्सर’ को प्रकार पत्ता लगाउन सहज हुने डा. पाण्डेको भनाई छ । उहाँका अनुसार पाठेघर, स्तन, फोक्सो, पाठेघरको ओभरी, पेट, आन्द्रा लगायत मासुको नमूना निकालिने क्यान्सरको प्रकार प्रत्ता लगाउन सकिने उहाँको भनाई छ ।
परीक्षणका लागि नमूना बाहिर पठाउँदा रिपोर्ट आउन ढिला हुने, उपचारमा ढिलासुस्ती हुने, अतिरिक्त खर्च बढ्ने र बिरामी तथा आफन्तलाई मानसिक तनाव थपिने अवस्था थियो । अब भने सो सबै समस्या समाधान भएको उहाँको भनाई छ । डा. पाण्डेले भन्नुभयो “यो मेसिन आएसँगै क्यान्सरको टाईप (प्रकार) पत्ता लगाउन यही सहज हुनेछ ।”
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार, ‘रोश बेंचमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित इम्युनोहिस्टोक्यामेस्ट्री प्रणाली हो, जसले टिशुमा रहेका प्रोटिन चिन्ह (प्रोटिन मार्कर) हरूको पहिचान गर्छ । यस मेसिनले क्यान्सरको सटिक प्रकार पत्ता लगाउन, लक्षित उपचार (टार्गेटेड थेरापी) तय गर्न र सम्पूर्ण उपचार योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने डा. पौडेलको भनाई छ । यसको प्रयोगबाट परीक्षण छिटो, स्पष्ट र वैज्ञानिक आधारमा हुने हुँदा परिणाममा विश्वसनीयता रहने उहाँको भनाई छ । अस्पताल आफैले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा. पौडेलले जानकारी दिनुभयो ।
आइएचसी परीक्षण क्यान्सर निदानको अत्यन्त संवेदनशील प्रक्रिया हो । यसले ट्युमरमा कुन प्रकारको प्रोटिन अभिव्यक्त (एक्सप्रेस) भएको छ भन्ने जानकारी दिन्छ, जुन प्रभावकारी उपचारका लागि अत्यावश्यक हुन्छ । यस सेवा सुरु भएपछि बिरामीहरूले नेपालमै छिटो रिपोर्ट पाउने, उपचार चाँडो सुरु गर्न सक्ने र आर्थिक तथा मानसिक बोझ घट्ने अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले बताउनुभयो ।
डा. नेपालका अनुसार, यस्तो स्तरको प्रविधिको थालनीले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अझ प्रविधिमैत्री बनाउँदै राष्ट्रिय क्यान्सर उपचार केन्द्रको हैसियतलाई अझ बलियो बनाउनेछ । ‘रोश बेंचमार्क अल्ट्रा’ जस्ता विश्वस्तरीय उपकरणको प्रयोगले अब रोगको पहिचान पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै गर्न सकिने उहाँको भनाई छ ।
अस्पतालले आगामी दिनमा थप अत्याधुनिक प्रविधिको प्रयोग गर्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवालाई अझ प्रभावकारी बनाउने योजना बनाएको कार्यकारी निर्देशक डा. पौडेलले बताउनुभयो ।





















