भरतपुर – भरतपुर महानगरपालिकामा उत्पादन भएका सामग्रीहरुको प्रवर्द्धनका लागि भरतपुर २ क्षेत्रपुरमा रात्रीकालीन बजार सुरु गर्न लागिएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकदेखि मेयर चोकसम्म बजार प्रवर्द्धनका लागि रात्रीकालीन बजार सुरु गर्न लागिएको हो ।
स्थानीय उत्पादन तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य सहित रात्रीकालीन बजार सुरु गर्न लागिएको वडा नम्बर २ का वडाध्यक्ष मनोज रानाभाटले बताए । हरेक शुक्रबार साँझ ६ बजेदेखि १० बजेसम्म बजार सञ्चालन हुने उनले जानकारी दिए ।
अध्यक्ष रानाभाटका अनुसार स्थानीय तथा अर्गानिक उत्पादनलाई बजारीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बजार सञ्चालन गर्ने तयारी गरिएको हो । यही असार २७ गते शुक्रबारबाट बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
बजारमा वडा बासीलाई प्रदर्शनी कक्षहरु निःशुल्क प्रदान गरिने छ भने महानगर बासीलाई सामान्य शुल्क लिएर स्टल प्रदान गर्न लागिएको हो । उनका अनुसार “आफ्नै घरमा उत्पादन भएका अर्गानिक बस्तुले सहजै बजार पाओस भन्ने उद्देश्यले बजार सुरु गर्न लागिएको हो ।” यसले स्वरोजगारलाई प्रवर्द्धन गर्न सहज हुने विश्वास लिइएको छ ।
रात्रीकालीन बजारमा स्थानीय तरकारी, फलफूल, घरमै बनाएको अचार, हस्तकला, रेष्टुरेण्ट, कपडा लगायतका प्रदर्शनी स्टलहरु रहनेछन । रात्रीकालीन बजार क्षेत्रभित्र सडकमा कुनै सवारी साधन चलाउन नपाइने व्यवस्था मिलाईएको छ ।
पहिलो शुक्रबार ६० भन्दा बढि स्टलहरु रहने छन् । उक्त बजारमा स्वच्छ खानेपानी, शौचालयको सुविधा, पार्किङ्ग लगायत सुरक्षाका लागी २४ सै घण्टा सिसिटीभीले निगरानी गरिने छ । उपभोक्ताले गुणस्तरीय तथा सहुलियत रुपमा सामान खरिद गर्न पाउने अध्यक्ष रानाभाटले वताए ।





















